सुइँइँय सुइँइँय सुइँइँय सुइँइँय
सिठी लाग्यो
रेल चल्यो
शुरुमा धीमा गति
त्यसपछि बढ्दो गति
छुक्छुक छुक्छुक छुक्छुक
लौ रेल चल्यो
लौ रेल चल्यो
अघि बढ्यो, अघि बढ्यो
पुर्व, दक्षिण, पश्चिम र उत्तरतिर लाग्यो
बिच बाटामा एउटा गुम्बज आइपुग्यो
रेल गुम्बजभित्र पनि पस्यो
र आखिर यो सकुशल अघि बढेर
बाहिर निस्क्यो
अहा, यो फेरि अघि बढ्यो
अघि बढ्यो
तर अलि पर पुगेपछि
यो केही सुस्त भयो
झन सुस्त भयो
र अव त यो रोकियो पनि
उही पुरानै ठाउँमा आएर
एक चक्कर लगायो
अनि पुन: त्यही पुरानै ठाउँमा आएर यो रोकियो
अघि बढेन
पटक्कै अघि बढेन
अनि फेरि केही समयपछी
त्यसैगरी सिठी बजाउँदै चल्यो
अनि फेरी आएर यही ठाउँमा रोकियो

मेरो देशमा चलिरहेको
लोकतान्त्रिक आन्दोलनको क्रममा
जब म नजिकैको प्रदर्शनी मार्गबाट
जुलुसमा हिँडिरहेको हुन्छु
तब म भृकुटी मण्डप परिसरभित्रको यो रेलतिर हेर्छु
यतिबेला म आफु जुलुसमा हिँडिरहेको हैन
त्यहि रेलमा बसेर सबार भैरहेको
अप्रिय अनुभुति गर्न पुग्छु
(हरिगोबिन्द लुइँटेल को "निर्माणाधीन" कबिता संग्रहबाट)