देशको बेहाल के सुनाउँ साथी यो छाती पोल्दैछ
फेरि पनि हुकुमी शासन चल्दैछ, गोली चल्दैछ

दुई छाक टार्न सारो भो हामीलाइ मजदूरी बढाई दे
बाल बच्चा पाल्न गार्हो भो हामीलाइ वेतन बढाइ दे
भनेर ताँती लाउनेलाई सरकार लाठीले ढाल्दै छ
के बताँउ खबर जनता मार्ने कुशासन चल्दै छ
फेरि पनि शकुनि पासा ढल्दैछ, गोली चल्दैछ
देशको बेहाल..........

बस्ने ठाउँ छैन टेक्ने ठाउँ छैन थात बास देखाइदे
किनी नसक्नु बजारको मुल्य महंगी घटाइदे
भनेर ताँती लाउनेलाइ सरकार संगीनले ढाल्दै छ
के बताउँ खबर यो देश बेच्ने कुचाल चल्दैछ
फेरि पनि गरिबका झुप्रा पोल्दैछ, गोली चल्दै छ
देशको बेहाल..........

गरीब दु:खी मुक्तिको लागि एकगठ हुँदैछन
सामन्ती काला नियम कानुनलाई आगोमा पोल्दैछन
नथाकी उठ गरीब हो फेरि यो सत्ता ढल्दै छ
गरीबको राज्य बनाउन ठुलो लडाईँ चल्दै छ
फेरि पनि झन ठुलो राँको जल्दै छ, गोली चल्दै छ
देशको बेहाल.....
(रक्तिम भाग ४ बाट)