मेरा कतिपय मित्रहरु मेरै ब्लग पढ्दैनन। कतिपय चाहिँ मेरो पढेपनि मैले बताएका अन्य ब्लग पढ्दैनन। साथिहरुसँग आफ्नो ब्लग को कुरा गर्दा नेपाली ब्लगर हरु का ब्लग भेटिने साइटको जानकारी दिए पनि अधिकांसले ब्लग नपढ्ने या त मेरो मात्रै पढ्ने र अरुको नपढ्ने तितो तर्क दिने गर्दछन। ब्लग लेख्ने र पढ्ने बानिको बिकास गर भन्दा उनिहरुको जबाफ हुन्छ "ब्लगमा लेख र समाचार मात्र त हो नी त्यो त बिभिन्न वेबसाइटमै पनि त भेटिन्छ। समाचार ब्लगमा खासै अपडेट हुँदैन र लेख पनि ब्लगमा खासै स्तरिय हुँदैन। स्तरिय भए त पत्रिकामै लेखिहाल्थे नी।" यो प्रकारको सोँच ब्लग को बारेमा छ्याप छ्याप्ती भेटिने गर्दछ। अझ कतिपय ब्लगर समेत आफ्नो ब्लगको मात्र प्रचार गर्ने र पढ्न अनुरोध गर्ने तर अरुका ब्लग नपढ्ने हुन्छन। त्यसैले ब्लग को महत्व र ब्लग पढ्नुपर्ने कारण हरु म प्रस्तुत गर्दैछु। यो मेरा अधिकांस मित्र तथा ब्लग को बारेमा जान्न खोज्ने सबैलाइ उपयोगी हुन्छ भन्ने बिस्वास गर्दछु।
ब्लग पनि सञ्चारको एक माध्यम हो। तर अन्य माध्यम जस्तै पत्रिका, रेडियो र अनलाइन जस्तो आधिकारिक माध्यम भने ब्लग होइन। त्यसैले आधिकारिकताका दृष्टीले ब्लग कमजोर देखिएला। तर बुझ्ने हो भने त्यहि पाटो नै ब्लग को उत्कृष्ट गुण हो। आधिकारिक सुचनाका माध्यम हरु बिभिन्न बन्धनमा बाँधिएका हुन्छन। समाचार प्रस्तुत गर्दा पनि असाध्यै काँटछाँट गरेर मात्र प्रस्तुत गर्छन भने लेख प्रकासित गर्दा त काटँछाँट गर्दा कहिलेकाहीँ लेखको मर्म नै हराउने बनाइदिन्छन। तर ब्लग यो प्रबृतीबाट मुक्त छ। न त समाचार कसैले काँटछाँट गर्छ न त लेखको भाबना नै बिग्रिन्छ। लेखकले आफुले देखेको र बुझेको निर्धक्क भएर प्रकासित गर्न पाउँछ। तर यसरी एक जनाको लेख नै कसरी आधिकारिक ठान्ने? हो त्यसैले नै धेरै ब्लग पढ्ने बानि हुनुपर्छ। मेरा एकजना बिदेशी मित्र ले भनेका थिए कि उनिहरु कुनै देशको कुनै जानकारी लिनुपर्यो भने त्यो देशका थुप्रै ब्लग को अध्ययन गर्छन रे। त्यसले गर्दा धेरै पक्षबाट लेखिएका र धेरै कोणबाट लेखिएका र लेखकले देखेका र बुझेका सबै कुरा लेखिएका धेरै थरि जानकारि भेटिन्छन जुन कुनै पुस्तक या वेबसाइटमा भेटिदैनन। त्यसले गर्दा त्यो ठाउँको बारेमा बुझ्न असाध्यै सजिलो पर्छ रे। त्यसैले हामी नेपालकै बारेमा बुझ्न या राजनिति या अन्य पक्षको बारेमा बुझ्न को लागि पनि सम्बन्धित बिषयमा लेखिएका धेरै ब्लग पढ्नुपर्छ। जसले धेरै कोणबाट त्यो बिषयको जानकारी मिल्छ।
ब्लगको अर्को पक्ष हो बिबिधता। कुनै पनि वेबसाइटमा त्यो साइट को सिमा बाहिर कुनै पनि सामग्री राख्न पाउँदैन। जस्तै मनोरञ्जन को साइटमा राजनितिले कुनै पनि स्थान पाउँदैन। तर ब्लग यो समस्याबाट मुक्त हुन्छन। बिज्ञानको बिद्यार्थी बाटो मा हिँड्दै गर्दा ट्राफिक जाम देखेर आफ्नो बिज्ञानको ब्लगमा ट्राफिक जामको बारेमा लेख्न सक्छ(उदाहरण म नै छु)। त्यसैले आफुलाइ मन परेको बिषय लेख्दा भावनाको धेरै निकट भएर लेखिन्छ। जसले सत्य तथ्य बुझ्न अझ सजिलो बन्छ।
यदि अन्य मिडिया नै प्रभाबकारी छन भने त्यहाँ काम गर्ने अधिकांस पत्रकार किन ब्लग लेख्छन? त्यसको एकमात्र कारण हो ब्लगमा जस्तो लेख्न स्वतन्त्रता अन्य कुनै पनि माध्यममा छैन। त्यसैले पत्रकार समेत ले ब्लग चलाउने गरेको पाइन्छ।
त्यसैले आफुले खोजेको सम्बन्धीत बिषयमा लेखिएका थुप्रै लेखकका ब्लग पढ्ने बानिको बिकास गर्ने हो भने पक्कै पन त्यो पक्षको बारेमा धेरै ज्ञान प्राप्त हुनेछ जुन अन्य कुनै माध्यमबाट हुँदैन।
ब्लग पढ्नुपर्ने अरु कारण तपाइँसँग छन भने तलको कमेन्ट बक्समा कमेन्ट छाडिदिनुहोला