दार्हीवाला नेता

विगतमा चार बर्ष जेल बसेको ज्याला माग्दैछ
जुङ्गावाला कार्यकर्ता
बिगतमा नौ बर्ष भूमिगत भएको मुआब्जा माग्दै छ
हिजो मैले "त्याग" गरेको थिएँ
खै आज त्यसको सट्टामा
मैले घडेरी पाएको?
हिजो मैले " बलिदान गरेको थिएँ
खै आज त्यसको बदलामा मेरो दोस्रो घर ठडिएको?
मागहरु आइरहेछन
दावीहरु आइरहेछन

बृद्धहरु भनिरहेछन
आगो हामीले जोगाएका हौँ
युवाहरु भनिरहेछन आगो हामीले दन्काएका हौँ
दुबैथरी भनिरहेछन


त्यसैले अब तातो हामीले ताप्न पाउनुपर्छ
त्यसैले अब उज्यालो हामीले हडप्न पाउनुपर्छ
क्रान्तिकालमा निर्बासित हुनु परेको
प्रतिबर्षको दर भाउ कति तोक्ने?
हिसाब हुँदैछ एकएक मिनेटको पनि
बिगतमा खाई नखाई झोला बोकेर हिँडेको
प्रतिकिलोमिटरको कति दाम तोक्ने?
हिसाब हुँदैछ एक एक पाइलाको पनि

कोहि भन्दैछन- म हिजो बिक्न मानिनँ
त्यसैले आज मेरो मोल हिजोको भन्दा दुई गुना बढी हुनुपर्छ
कोही भन्दैछन-म हिजो झुक्न मानिन
त्यसैले आज मेरो भाउ चार गुणा बढी हुनुपर्छ
दुबैथरि एकसाथ भनिरहेछन
त्यसैले ओहोदाहरु मैले नै पाउनुपर्छ
घुम्ने मेचमा घुम्न पाउनुपर्छ
ऐशको नशाले झुम्न पाउनुपर्छ
चुनाबमा टिकट मैले नै पाउनुपर्छ
चुनिएर जान पाउनुपर्छ
गएर खान पाउनुपर्छ

मागहरु आइरहेछन
दाबीहरु आइरहेछन
आइरहेछन
आइरहेछन

मानौँ मागको बर्षा भइरहेछ
र दावीको बाढी आइरहेछ
किनारमा बाढिले
डिल र बाँधहरु भत्काउँदैछ
सुकुम्वासी बस्तीहरु बगाउँदै छ
हाहाकार जस्तै भइरहेको छ
र मानिसहरु भाग्दै छन
अग्ला जमीनहरु खोज्दै



(साभार हरिगोबिन्द लुइँटेल को "निर्माणाधीन" कबिता संग्रह बाट)