कहिले कहिँ निकै सानो कुराले पनि निकै गहन कुराको झलक दिन्छ | र आफुले सुनेको तर अनुभब गर्न नपाएको कुराहरुको अनुभब भिन्दै अवस्था बाट समेत पाइन्छ | जसको प्रत्यक्ष अनुभब केहि दिनयता मैले गरिरहेको छु | कुरा हो देशको बिग्रदो अवस्थाको बारे नेतृत्वको अकर्मण्यता र साथसाथै प्रविधिमा हाम्रो कमजोर पहुँचको कारण हामीले  भोग्नुपरेको यथार्थ | भिन्न परिस्थितीमा नै सहि तर मैले यसको आंशिक तर यथार्थ अनुभव गर्ने अवसर पाएँ |

कुरा हो अहिलेको मेरो आफ्नो जन्मस्थलको यात्रा | मेरो जन्मस्थल अर्थात अर्घाखाँचीको केरुङ्गा गाबिस | केहि वर्ष यता देशमा दुरसंचारको अपत्यारिलो बिकाशको प्रभाब यहाँ पनि उल्लेख्य रुपमा परेको छ र साथमा विद्युतीकरणको कारण सामान्य व्यक्तिको लागी जनजीवन निकै सहज भएको छ | तर अहिले पनि यहाँ इन्टरनेटको अवस्था चाहिं निकै नाजुक रहेको छ | इन्टरनेट चलाउन अधिकांस व्यक्तिहरुको लागी जिपीआरएस एक मात्र आधार हो | तसर्थ यहाँ आउनु अघि इन्टरनेटसँग लगभग सम्पर्कबिच्छेद हुने अवस्था हुन्छ | स्काई डाटा र जिपीआरएस सेवा बाट  इन्टरनेट चलाउनु पर्ने बाध्यताको कारण बाध्यात्मक प्रयोजन बाहेक अरु अवस्थामा इन्टरनेट चलाउन सम्भाब हुँदैन | त्यो बेला एउटा नमिठो कुराको स्मरण हुन जान्छ | काठमाण्डौ हुँदा जुन इन्टरनेट कनेक्सनलाइ राम्रो भनेर चलाउने गरिन्छ  र काठमाण्डौ बाहिर आउँदा त्यहि इन्टरनेटको स्पिड सम्झना गरिन्छ सायद त्यहि इन्टरनेट कनेक्सन संसारका कुनै कुनाका मानिसलाइ हाम्रो जिपिआरएस जस्तो लाग्दो हो | स्लो कनेक्सनमा चलाउनु परेको भनेर सायद उनीहरु मन अमिलो बनाउँदा हुन |

यहि दौरान मैले भोगेको अर्को समस्या थियो विद्युत लाइनमा देखिएको समस्या | गुल्मीको सिमावर्ती गाविस भएको कारण यो ठाउँमा गुल्मीको प्रसारणबाट बिद्युत जोडिएको छ | तर लगभग एक महिना यता यहाको बिद्युत आपुर्ती नियमित रुपमा अबरुद्ध पारिंदै आएको रहेछ | गुल्मीको प्रसारणमा भार धेरै परेको बेला यताको प्रसारण काटेर उता भार कम बनाइने रहेछ |  यो अर्को जिल्ला भएको कारण मात्र यो भेदभाब भएको रहेछ | तर अर्घाखाँचीकै प्रसारण बाट गुल्मीका केहि गाबिसमा बिद्युत आपुर्ती भएको कुरालाई नजरअन्दाज गरिएको रहेछ | तर त्यसबारे कुरा उठाउनको लागी यो क्षेत्रका सबै नेतृत्वकर्ता उदासिन भएको स्थानीय बासीको आरोप देखियो | जब बेलुकीपख बाहिर गएर हेर्छु अधिकांस क्षेत्रमा झलमल्ल बत्ती बलेको देखिन्छ तर वरिपरिका ३ गाबिसमा मात्र अन्धकार छाएको देखिन्छ | यसले मलाइ अर्को कटुयथार्थसँग परिचित हुने अवसर दिलायो | हामीले रास्ट्रीय स्तरका नेतृत्वको आलोचना त गर्यौं र बिदेशमा भएको बिकाशको बारे कुरा सुनेर मुख पनि मिठ्यायौं | तर हामीमध्ये धेरैजसो चाहिं त्यो विकास सँग परिचित हुन पाएका छैनौ | सायद त्यसैले पनि धेरै नमिठो अनुभब गर्नु परेको छैन | तर सानो स्तरमै सहि यहाँको अवस्था देखेपछि चाही मलाइ हामीहरु नेतृत्वको अकर्मण्यताको कारण साच्चै पछि परेको अनुभब भयो |