“ Politics is for the moment and equation is for eternity."
Albert Einstein

हिजो एउटा अनलाइनमा माननीय सन्चार राज्यमन्त्रीको अन्तरबार्ता हेर्दै थिएँ । भागभन्डाको बारे उहाँले यसो भन्नुभएछ । " सुत्रहरुमात्रै खेती गर्ने अर्को पाइथागोरस हामीकहाँ नजन्मियुन "  सरकारको प्रबक्ताको यो उदेकलाग्दो अभिव्यक्ति हाम्रो नेतृत्व बिज्ञानप्रती कति उदासिन छ भनेर बुझ्न पर्याप्त छ।  त्यसैले म यहाँ  पाइथागोरस को चर्चाबाट कुरा सुरु गर्दै छु ।

बिश्वमा बिरलै भेटिने महान गणितज्ञ हुन पाइथागोरस । उनी एकै ब्यक्ती हुन वा भिन्न भिन्न ब्यक्तीको समूह भन्ने कुरामा यदाकदा बिबाद भेटिए पनि उनले प्रतिपादन गरेको ज्यामितीको सिद्धान्त अहिले पनि अकाट्य छ । पाइथागोरस नजन्मिएका भए सायद यति सजिलै बिज्ञानको बिकास हुँदैनथियो होला । सबै क्लासिकल थ्योरीमा पाइथागोरस अकाट्य छन भन्दा पनि हुन्छ । उनलाइ मन पराउने वा मन नपराउने जसले पनि उनको सिद्धान्त अस्विकार गर्न सकेका छैनन ।

तर्क उठ्न सक्छ कहाँ गणितज्ञ पाइथागोरस कहाँ अनिश्चितताले भरिएको राजनीति । हो राजनीतिमा गणितको थ्योरी काम नलाग्न सक्छ  । अझै दुई पार्टीको एकीकरणको भागबन्डामा पक्कै गणित प्रयोगमा न आउला  ( गेम थ्योरीको प्रयोगलाइ बिर्सिनेहो भने) । तर त्यो भन्दैमा पाइथागोरस जोडिनु पर्ने कारण के? कि त माननियले पाइथागोरसले प्रतिपादन गरेको तथ्यहरु बुझ्नुभएन  । कि त उहाँले पाइथागोरस भन्ने ब्यक्ती  सुत्र बनाउँदै वस्ने बेकारी हो भनेर बुझ्नुभयो । पत्रकारिताबाट राजनीतिमा आएको ब्यक्तीलाइ गणितको बारे सबै कुरा थाहा हुन्छ भन्नू पक्कै गलत हो । तर संचार मन्त्रालयको जिम्मेवारी सम्हालेको मानिस हचुवामा बोल्न मिल्छ?

र अन्त्यमा राजनीतिमा पाइथागोरस साध्य खोज्नु पक्कै मुर्खता हो तर पनि आजको कुरा भोलि सम्म नटिक्ने राजनीतिको बोलवाला चलेको बेला सबैले मान्ने र मान्नै बाध्य बनाउने राजनीतिक " पाइथागोरस साध्य" को जरुरी छ  । अर्थात नेपाली राजनीतिमा पाइथागोरस जन्मिनु जरुरी छ ।