मैले लेख्ने गरेका नेपाली शब्द होस् वा वाक्य होस् ती प्रायः अशुद्ध हुन्छन् भन्ने कुरा मैले प्रारम्भमै स्वीकार गर्नैपर्छ । यसका विभिन्न कारण छन् । विद्यालयमा पढ्दै गर्दा मेरा सधैँकोे सपना विज्ञान पढ्नु थियो त्यसैले पनि हुन सक्छ नेपाली मेरो प्राथमिकताको विषय कहिल्यै बनेन । कुल १०० पूर्णाङ्कमा व्याकरणका सामान्य नियम जानेकै भरमा ३५ अङ्क आउनेमा म ढुक्क थिएँ । बाँकी रह्यो ६५ अङ्क । यता तानतुन उता तानतुन पारेर थप ३५ गरेर ७० जति आउनेमा म ढुक्क थिएँ । त्यसमाथि नेपाली मातृभाषी परिवारमा जन्मिएको र नेपाली माध्यमकै विद्यालयमा पढेकाले पनि मभित्र यस्तो प्रकारको सोच आउनु अस्वाभाविक थिएन ।
अहिले म विगत् केही वर्षदेखि राजधानीका केही निजी विद्यालयहरुमा अध्यापन गर्दै आएको छु । मेरो अध्यापनको विषय विज्ञान र गणित हो । यसो हुँदाहुँदै पनि विद्यार्थीहरूले प्रयोग गर्ने गरेको भाषाको कारण पनि भाषाको प्रयोग अञ्जानमै मेरो रुचिको विषय बन्न पुगेको छ । अझ अङ्ग्रेजी माध्यमका विद्यालयहरुमा त नेपाली बोल्नु अघोषित प्रतिबन्धित जस्तै हुन्छ । यदि बोलिहाले पनि उनीहरूले बोल्ने भाषाको दुरावास्था देखेर मलाई समेत् कताकता पोल्छ ।
प्रायः अङ्ग्रेजी माध्यमका विद्यालयहरुमा अनिवार्य नेपाली बाहेक सबै विषय अङग्रेजीमा पढाइने गरिन्छ । त्यसैले विद्यार्थीहरूले आफूलाई अङ्ग्रेजी भाषाको प्रयोगमा आफूलाई दक्ष बनाउनै पर्ने बाध्यकारी अवस्थाको सिर्जना हुन्छ । व्यवहारतः हेर्ने हो भने उनीहरूको अवस्था सन्तोषजनक पटक्कै छैन । वाक्य निर्माणका क्रममा होस् वा शब्दचयनमा उनीहरुको कमजोरी प्रष्ट देखिन्छ । शब्द चयनको क्रममा उनीहरुलाई समस्या परेको देखिन्छ । उनीहरूले अङग्रेजी लेख्दै गर्दा आफूले जानेको नेपाली शब्दलाई अङ्ग्रेजीमा के लेखिन्छ भन्नेमा उनीहरू अनभिज्ञ छन् । लेख्ने क्रममा कतिपय अङ्ग्रेजी शब्दको नेपाली अर्थ र नेपालीको अङ्ग्रेजी शब्द चयन गर्न नजानेर अप्ठ्यारोमा परेको देख्न सकिन्छ । कता के नमिलेर हो उनीहरूको अङ्ग्रेजी र नेपाली दुवै भाषा असाध्यै कमजोर भइरहेको छ ।
यसको कारण खोज्दै गर्दा केही तथ्यहरू अगाडि आउँछन् ।
विद्याथीहरू घर तथा समाजमा नेपाली बोल्छन् भने विद्यालयमा अधिकांश विषयहरू अङग्रेजीमा अध्ययन गर्छन् । विडम्बना आधाभन्दा धेरै शिक्षकहरु अङ्ग्रेजीमा पारङ्गत छैनन् । यही कारणले शिक्षकहरुको बोल्ने भाषा नेपाली र लेख्ने भाषा अङ्ग्रेजी हुन गएको छ । यसको प्रत्यक्ष प्रभाव विद्यार्थीहरूको भाषा सिकाइमा पर्न गएको देखिन्छ । आजभोलि केही अङ्ग्रेजी माध्यमका विद्यालयहरुले सामाजिक शिक्षा र स्वास्थ्य,जनसङख्या तथा वातावरण शिक्षा नेपालीमै सिकाउने गरेका छन् । यसबाट तुलनात्मक रुपमा अन्य विषय भन्दा सामाजिक र स्वास्थ्य जनसंख्या तथा वातावरण विषयको नतिजा राम्रो तथा सुधारोन्मुख देखिएको छ ।
अर्को समस्या गैर नेपाली मातृभाषी विद्यार्थीमा देखिन्छ । उनीहरूले आफूले बोल्ने गरेको भाषिका जस्ताको तस्तै लेखाइमा प्रयोग गर्ने गरेका छन् । एउटा सामान्य तथ्य के हो भने आफूले मातृभाषाको रुपमा प्रयोग गरेको भाषाबाहेक अर्को कुनै भाषामा दख्खलता हाँसिल गर्न अलि धेरै गाह्रो नै हुन्छ । नेपाली मातृभाषी परिवारमा हुर्किएको विद्यार्थी अङ्ग्रेजी भाषाको प्रयोगमा धेरै ठाउँमा चुकिरहेको हुन्छ । मैथिली मातृभाषी विद्यार्थीले नेपाली बोल्दा स्वाभाविक रुपमा उनीहरूको भाषिक प्रयोग बिग्रिन पुग्दछ । अन्य मातृभाषी विद्यार्थीहरू पनि यो सत्यताबाट टाढा हुन सकेका छैनन् । नेपाली भाषाको प्रयोगका क्रममा पदसङ्गति ठाउँठाउँमा बिग्रन पुग्छ । जसरी एउटा नेपाली मातृभाषीले अंग्रेजी बोल्दा क्ष्ष्ष्ष्ष्ष् I didn't ate rice भन्ने गल्ती गर्छ त्यसरी नै नेपाली बाहेकका अन्य मातृभाषी विद्यार्थीहरूले नेपाली बोल्दा बुबा आयो, मैले भात खायो जस्ता शब्दहरु प्रयोगमा ल्याएको पाइन्छ । बोलीचालीमा मात्र सीमित यो त्रुटि आजकल लेखाइमा समेत् प्रकट हुन थालेको छ । साथी सङ्गत्को प्रभाव अनि विद्युतीय माध्यमहरूमा प्रयोग हुने गलत संवादको प्रत्यक्ष असर नेपाली मातृभाषी विद्यार्थीहरूमा समेत देखिन थालेको छ । यस्तै हुँदै जाने हो भने भविष्यमा काम नलाग्ने भाषाको रुपमा अधिकांश विद्यार्थीहरुले लिने हुन् कि समस्या देखिने हो कि ? फेरि दोस्रो दर्जाको भाषाको रुपमा नेपाली भाषालाई लिइने पो हो कि भन्ने चुनौती देखिन्छ ।
मैले प्रारम्भमै उल्लेख गरेजस्तै नेपाली मातृभाषी समाजमा हुर्किएर र नेपाली माध्यमको विद्यालयमै पढेर पनि अहिले म शुद्घ नेपाली लेखन र शब्द चयनमा ढुक्क हुन सकेको छैन । अनि वर्तमान समयमा नेपाली र अंग्रेजी मिश्रित माध्यममा पढिरहेका र भाषामा चौतर्फी प्रभाव परिरहेको आजका विद्यार्थीहरुले पछि गएर कस्तो किसिमको भाषा प्रयोग गर्छन् । यो एउटा निराशाजनक प्रश्न मेरो मस्तिष्कमा लामो समयदेखि अल्झिरहेको छ ।
0 Comments