म कहाँ खोजु बाच्नुको सार्थकता
सापेक्षताबादका सिद्धान्त हरुमा
वा क्वान्टम बिज्ञानका नियमहरुमा
न्युक्लियर बलका सिमिततामा
वा गुरुत्वबलका असिमिततामा
आकर्सणका नियममा
वा बिकर्षणका प्रकृयामा
दुइ बिपरित धुर्ब
दुइ बिपरित यथार्थ
दुइ बिपरीत प्रकृया
खुम्चिदै गरेको ब्ल्याकहोलभित्र
वा फैलदै गरेको ब्रह्माण्डभित्र
खै कहाँ छ मेरो बाँच्नुको सार्थकता

मेरा जीबनका धारहरु कता होलान
निराशाबादी साहित्यका भण्डारभित्र
वा प्रगतिशिल क्रान्तिकारी हुँकारभीत्र
सुन्यबादी दर्शनका ठेली भित्र
वा उत्तरआधुनिक सिमाहरुभित्र
खै कतै छैन त जीबनको औचित्य
कतै छैन त बाँच्नुको सार्थकता
स्वच्छन्दबाद वा उत्तरआधुनिकबाद
सुन्यबाद वा प्रगतिबाद

खै कसले पो बनायो र सुखि समाज
न त प्लेटोको ओडारले
न त सोक्रेटसको हेमलगले
न त एरिष्टोटलका सुत्रले
न त उपनिषदका ठेलिहरुले
न त हेगलका अध्यात्मले
न त फायरबाखका भौतिकताले
न मार्क्सका द्वन्दबादले
न आइनस्टाइनका सापेक्षताबादले

छैन
कतैपनि छैन जीबनको सार्थकता
कतैपनि छैन समाजको औचित्य
बिज्ञानमा दर्शनमा कतै पनि छैन बाँच्नुको औचित्य
अब म कहाँ खोजुँ जीबन
खोक्रो समानताको पुँजीबादी सोषणभित्र वा समानताको आडभित्रको साम्यबादी लुटभित्र