हामी सबैलाई थाहा छ की धनको प्रतिक अथवा देवी भनेर लक्ष्मीलाइ चिन्ने गरिन्छ | तर धन भन्नाले व्यक्तिगत सम्पती मात्र जनाउँछ की अरु पनि केहि कुराहरु छन् जसले साँचो अर्थमा धनको अर्थ दिने गर्दछन | धनको अर्थ रुपियाँ मात्र भए त संसारका अरबपती  निकै खुसि हुनु पर्ने | तर उनीहरु खुसि छैनन् | यसको अर्थ हो केहि कुरा अरु पनि छ जुन नभई मान्छे लाइ धनी भन्न सकिदैन | र जसरी हामीहरु धनको देबी लक्ष्मीलाइ मान्छौं त्यसरी नै बिभिन्न प्रकारका धनकी देबीको रुपमा आठ प्रकारका लक्ष्मीको परिकल्पना गरिएको रहेछ र समग्रमा  अष्टलक्ष्मी नाम दिइएको रहेछ | र सबै लक्ष्मीले साथ दिएको भए मात्र पूर्ण रुपमा धनि मानिने रहेछ |

अपिलक्ष्मी : हुनत म संस्कृतमा कमजोर हुनाले यसको ठ्याक्क अनुबाद मलाइ थाहा छैन तर पनि यसको अर्थ स्विकार भन्ने हुने रैछ | अर्थात आफ्नो अहिलेको परिस्थिति र भुतमा घटेका घटनाहरुलाई स्विकार गर्न सक्ने क्षमता | जो मानिस आफ्नो वरिपरीको परिस्थिति सँग सन्तुस्ट हुन सक्दैन उसको वरिपरिको अवस्था आफ्नो हुन सक्दैन | त्यो मानिस आफ्नो वरिपरीको बाताबरण आफ्नो ठान्न सक्दैन | अर्थात त्यो मानिस आफ्नो वरिपरिको परिस्थिति सँग गरिब नै हुन्छ |

धनलक्ष्मी : धनलक्ष्मी अर्थात धनसम्पती |यसबारे त सबैलाई थाहा नै छ | त्यसैले यसको बर्णनलाइ यत्तिकै छोडें मैले |

धान्यलक्ष्मी : धान्य अर्थात अन्न | तर अन्नलाइ नै किन लक्ष्मीको दर्जा दिइयो त? अन्न सामान्य बस्तु मात्र भए धनलक्ष्मी सँग नै जोडिन्थ्यो होला | तर अन्नको प्रत्यक्ष सम्बन्ध हाम्रो स्वास्थ्य सँग हुने गर्दछ | अर्थात हामीले खाने खाना कस्तो छ भन्ने कुराले हाम्रो स्वास्थ्य कस्तो छ भन्ने कुरा जनाउँछ | त्यसैले धान्यलक्ष्मीलाइ स्वास्थ्य सँग जोडेर हेर्न सकिन्छ | जब मानिस अस्वस्थ  हुन्छ त्यतिबेला अरु कुरामा जतिसुकै सम्पन्न भएपनि त्यो मानिस गरिब नै भएजस्तो हुन्छ | अर्थात स्वास्थ्य समेत एक प्रमुख  धन हो भनेर बुझ्न सकिन्छ | त्यसैले अन्नको रुपमा स्वास्थ्यलाइ समेत आठ लक्ष्मीमा एक लक्ष्मीको स्थान दिइएको छ |

गजलक्ष्मी : संस्कृतमा गज भन्नाले हात्ती जनाउँछ | अर्थात धन र धान्यले समेट्न नसक्ने पशुधन लाइ जनाउँछ | तर पशुधन भित्र समेत केहि रहस्य लुकेको छ | कुनै पनि पशुधनको कुरा गर्दा के बुझ्नु पर्छ भने रुपैया र अन्न जस्तो पशु निर्जिब हुँदैनन |उनीहरुमा थोरै नै भएपनी सोच्न सक्ने क्षमता हुन्छ | त्यसैले उनीहरुलाई आफ्नो बनाउनको लागी मित्रताको जरुरत हुन्छ | र त्यहि मैत्रीभावलाइ समेत हाम्रा ग्रन्थहरुमा धनको रुपमा ब्याख्या गरिएको पाइन्छ | र यसलाई गजलक्ष्मीको नाम दिइएको पाइन्छ |

सन्तानलक्ष्मी : सन्तानलक्ष्मी अर्थात आफ्नो सन्तान समेत धनको रुपमा ब्याख्या गरिएको पाइन्छ | तर सन्तानलक्ष्मीले आफ्नो छोराछोरीमा मात्र आफ्नो सिमा तोक्दैन | आफुले आफ्नो दुख पिडा सुनाउन सक्ने सबैलाइ यस दायरामा राखेको पाइन्छ | यसरी आफ्नो दुखसुख बाड्ने मानिस हुनु समेत एक प्रकारले धनी हुनु नै मानिने रैछ |

विद्यालक्ष्मी : बिद्यधनम सर्बधनम प्रधानम भनेर समेत भन्ने गरिन्छ | तर बिद्या भन्नाले कलेजको अध्ययन नभई ज्ञानको खोजीमा हुने तत्परतालाइ जनाउने गर्दछ | जीवन र जगत बारे बुझ्ने इच्छा र त्यसबारे निकालेका निचोड नै यसभित्र आउने गर्दछन | जसले जीवनको अर्थ बुझेको छैन उ सधै यसबाट पिडित हुने गर्दछ | अर्थात जीवनबारे बुझ्नु समेत एक हिसाबले जीवनमा खुसि आउनु हो | यसर्थ विद्यालक्ष्मी को रुमपा ज्ञानलाई समेत धनको स्थान दिईएको भेटिन्छ |

बिरलक्ष्मी : बिरलक्ष्मी अर्थात साहस | कुनै पनि अवस्थासँग लड्न सक्ने क्षमता | जो मानिस भित्रबाट कमजोर हुन्छ अरु सबै कुरा पाएर पनि कतै न कतै उसलाई सधै डर हुने गर्दछ | यसकारण उसले आफ्नो जीवनमा सधै पिडा मात्र भेट्ने गर्दछ | त्यसैले साहस समेत एक धन हो भनेर ब्याख्या गरिएको छ | र यसलाई बिरलक्ष्मीको नाम दिइएको छ |

विजयालक्ष्मी  : विजयालक्ष्मी अर्थात आफ्नो वरिपरी भएको सबै परिस्थीती माथिको विजय | तर अध्यात्ममा यसलाई अझै महत्वको साथ हेरिएको छ  | अर्थात आफु माथि समेत बिजयको रुपमा यसलाई हेरिन्छ | तर जे भएपनि हारको मानसिकतामा मानिस कहिले पनि सुखी हुन सक्दैन | त्यसैले सायद बिजयभावलाइ समेत धनको रुपमा प्रस्तुत गर्ने गरिन्छ 

माथिका ८ वटा बुँदाबाट प्रस्ट हुन्छ की मानिस सम्पती आर्जन गरेर मात्र सुखी र खुसि हुन सक्दैन | त्यसको लागी अन्य थुप्रै कुराहरुको आवस्यकता पर्ने गर्दछ | अहिलेको परिस्थितिमा माथिका बुँदामा थपघट गर्न पर्ने पनि हुन सक्छ तर पनि जीवनको खुसि आर्जन गर्न सायद माथिका बुँदामा भनिएका कुराहरु चाहिं अपरिहार्य नै छन की जस्तो लाग्छ |




 (भानु शर्माको प्रबचनमा आधारित )