बिद्यालय पढ्दाको कुरा हो यो । हाम्रो गाउँमा बत्ती पुगेको थिएन। सोलारबाट टेलिभिजन त चल्थ्यो तर नेपाल टेलिभिजन टिप्दैनथ्यो । घरमा दुरदर्शन टिप्थ्यो तर बिस वाटको सोलारबाट दिनमा तिनचार घन्टा मात्र हेर्न पुग्थ्यो । यस्तोमा रेडियो नै सबैभन्दा भरपर्दो सञ्चारको माध्यम थियो । र मसँग एउटा रेडियो थियो, पर्सनल । त्यो बेला आफ्नै रेडियो हुनु भनेको अहिले आईफोन हुनु जस्तै थियो हाम्रो लागी । अहिले पत्यार नलाग्ला तर त्यो सानो रेडियो बजाउँदै पुरै गाउँ डुलिन्थ्यो । पधेरो जाँदा होस या साथीभाइसँग नजिकै कतै घुम्न जाँदा होस, रेडियो साथमै हुन्थ्यो । यतिसम्म कि मामाघर जाँदा समेत रेडियो साथमा हुन्थ्यो ।
सामुदायिक रेडियो
लुम्बिनी, रेडियो मदनपोखरा देखी चितवनको कालिका र हेटौँडाको रेडियो अन्नपुर्ण र
झ्यारझ्यार सुनिने काठमाडौँको हिट्स एफएम। साथमा अल इन्डिया रेडियो, भुटान
ब्रोडकास्टिंग सर्भिसेज, चाइनिज र रसियन प्रसारण (जसको नाम बिर्सिएँ) र बिबिसि ।
अल इन्डियामा नियमित पत्र पठाउने रौतहट संग्रामपुरका एटलान्टिक प्रसाद चौधरी । यति
प्रसंग अहिलेसम्म याद छन भने त्यो बेला रेडियोको क्रेज कस्तो थियो होला
तर एक दिन, बिहानको
धार्मिक कार्यक्रम सकिएपछि पनि रेडियो नेपालले भजन बजाइरह्यो । “ बोलिरहने
पिँजडाको पञ्छीलाइ कुन्नी के भो” । नियतबस यो भजन बजाइएको थियो या संयोगबस थियो हामीलाइ
थाहा थिएन तर सात बजे बज्नुपर्ने समाचार पनि रेडियो नेपालमा आएन । ७ बजेर १५
मिनेटमा अल इण्डियाको समाचारको मुख्य समाचार, “नेपालके युबराज दिपेन्द्रने कल रात
राजा बिरेन्द्र रानी ऐश्वर्य समेत कहि लोगोँका खुन किया। उस वक्त अधिराजकुमार ज्ञानेन्द्र
पोखरामे थे...........”
त्यो घटनाको
सत्यतथ्य के थियो, सायद बाहिर आउने छैन । र आएपनि कसैले पत्याउने छैन । तर आसंका
त्यतिबेला नै सुरु भइसकेका थिए, जसको पुस्टी थिएन । एउटा नौँ कक्षामा पढ्ने
किसोरको लागि जसले हत्या गरेको भए पनि पृथ्बीनारायणको बंश, ज्ञानेन्द्र र उनको
परिवार सकुशल रहेको खबर नै खुसी हुनुको लागी पर्याप्त थियो । अर्थात मेरो कलिलो
मस्तिष्कमा राजपरिवार नेपालको लागी अपरिहार्य रहेको भ्रम थियो । र रमाइलो कुरा,
त्यसको केहि बर्षपछी नै राजा फाल्ने आन्दोलनमा लागिएको थियो
अहिले हेर्दा लाग्छ
राजा प्रतिको त्यो मोह बिकास हुनुमा के ले भुमिका खेलेको थियो त ? यसको एउटै उत्तर
आउँछ, राजाको गुणगानले भरिएका किताब ।
२०२८ सालको शिक्षानीतिले प्रस्ट रुपमा राजमुकुटप्रती वफादार नागरिक बनाउने
लक्ष्य लिएको थियो । जसको आधारमा लेखिएका किताबले राजाको गुणगान मात्र गाए । गुणगान
यति चर्को भयो कि पृथ्वीनारायणको राज्यबिस्तारको अभियानमा भएगरेका कतिपय दमन जायज
देखिए। नेपालले हारेर संझौतामा टुंगिएको नेपाल अंग्रेज युद्ध, नेपाली बिरताको गाथा
बन्यो ।लडाइँ छोडेर पञ्जाब फौजमा भर्ती भएर अफगानिस्तानमा मारिएका बलभद्र
रास्ट्रिय बिभुती बने भने संबिधानसभा दिने भनेर बाचा गरेर पछि धोका दिने त्रिभुवन रास्ट्रपिता। राजा बनेको आठ
बर्षमै बहुदल दिन सक्ने भए पनि अर्को दश बर्ष, त्यो पनि जनआन्दोलनको उभारको कारण
बहुदल घोषणा गर्न बाध्य बिरेन्द्र जनप्रेमी राजा बने भने एक भाषा एक भेषको नीति
लिएर बिभिधताको अस्विकार गरेको राज्य, सहिस्णु राज्य र त्यसको नेत्रित्वमा बस्ने
राजा चाही त्यसको एकताको प्रतिक बनाइए। हो,
यस्तै कुरा नेपालको तिन पुस्ताले पढ्यो । पढ्न नजान्नेले रेडियोमा सुन्यो, राजाको
जन्मदिनमा, पृथ्वी जयन्ती र प्रजातन्त्र दिवसमा ।
धेरैपटक दोहोरिएपछि
झुट पनि सत्य बन्छ भन्ने मनोविज्ञानको भरपुर
प्रयोग गर्यो राज्यले । र मजस्ता धेरै बालकको मनमा भरिदियो, नेपाली बिर
जाती हो, हाम्रो देश सबैभन्दा महान देश हो । सगरमाथाको देश हो, बुद्धको देश हो आदी
आदी। तर यि गौरबगाथामा हामी गरिब देश हौँ भन्ने कुरा थिएन । पैसाको अभाबमा कैयौँ
नेपाली देश छोडेर बिदेसिएका छन भन्ने कुरा थिएन । जननी जन्मभुमी वाला स्लोक थियो
तर यहि देश, कैयौँ नेपालीको लागि नर्कसमान बनेको छ भन्ने यथार्थ थिएन । हिँजो कुनै
बेला खुकुरीको बलमा दुस्मनको प्रतिरोध गरेका कहानी थिए तर अहिले हामी लाचार मुलुक
हौँ भन्ने यथार्थ चित्रण थिएन । अर्थात पाठ्यपुस्तक झुठका पुलिन्दा थिए,र मिठो
भ्रम छर्ने हतियार थिए ।
त्यसैले अहिलेको
परिवर्तित भुराजनीतिक जटिलतामाझ पनि थुप्रै नेपालीलाइ के लाग्छ भने, नेपालको अस्तित्व
रक्षाको लागि राजतन्त्र अपरिहार्य छ । नेपाली सबैभन्दा सुन्दर मुलुक हो ,नेपाली
सबैभन्दा बिर जाती हो । तत्कालिन शासकले स्थापित गरेको मान्यताको बिष अहिलेसम्म
पनि थुप्रै नेपालीको रगतमा मिसिएको छ। जसरी त्यो दिनसम्म मेरो रगतमा त्यो बिषको
प्रभाब थियो । त्यसैले राजतन्त्रले निरन्तरता पाउने कुराले म खुसी थिएँ।
बिरेन्द्रको परिवारको
हत्या मात्र पारिवारिक झगडा वा सत्ताको हानथाप मात्र थियो वा कसैको षडयन्त्र, यो
प्रस्न पनि मलाइ महत्वपुर्ण लाग्दैन । एउटा मानव भएको नाताले सिंगो परिवारको
हत्याप्रती दुख छ, तर त्यो बेलाको राजा भएको कारण होइन । आज देश गणतन्त्रमा छ, र
यसको अभ्यासको क्रममा केहि कमजोरी देखिएका छन । तर, त्यसको अर्थ राजतन्त्र ठिक हो
भन्ने होइन । गणतन्त्रमा म वा तपाईँ पनि राष्ट्रपति बन्ने अवसर आउन सक्छ । तर राजा
नै ठिक भन्नु को अर्थ, मेरो क्षमता कुनै परिवारमा जन्मेको ब्यक्ती भन्दा मेरो
क्षमता कमजोर भन्ने नै हो । गणतन्त्रमा सुधार सम्भब छ, र त्यो सबै जना मिलेर नै
सम्भब छ । र त्यसको लागि कुनै बेलाका शासकले सिकाएको अर्तीबाट बाहिर आउने साहस चाहिन्छ
। त्यो साहस मसँग छ । के तपाईँसँग त्यो साहस छ?
0 Comments