शिक्षक हुनु गार्हो काम हो। असल शिक्षक हुनको लागी संसारमा आएका सबै नवीनतम प्रबिधिको सामान्य जानकारी लिएकै हुनु पर्दछ्। तर नेपालको शिक्षण प्रणाली पुरानै ढर्रामा चलिरहेको थियो । तर अनिश्चित समयको लागी जारी भएको लकडाउनको कारण, नेपाली शिक्षाक्षेत्रले आफुलाइ पुनर्संरचना गर्ने अभुतपुर्ण अबसर प्राप्त गरेको छ् । यसै सन्दर्भमा मैले अध्यापन गरिरहेको बिद्यालय समेत अनलाइन कक्षामा जाने निर्णय गरेपछी चैत देखीनै निरन्तर अनलाइन कक्षा सञ्चालन गर्दै आइरहेको छु । यहि दौरान आफुले सिकेका केहि अनुभवलाइ यो ब्लगमा लेखेको छु

गार्हो छैन अनलाइन शिक्षण

अनलाइन शिक्षण सुरु गर्ने बेला धेरै साथीहरुको एउटै कुरा थियो, तालिमको अभाबमा अनलाइन शिक्षण गर्न असम्भव छ । सामान्य अबस्थामा यो कुरा जायद हुन्थ्यो तर जुन असामान्य अबस्थाको सामना हामी गरिरहेका थियौँ, त्यस्तोमा तालिमको अपेक्षा गर्न सकिदैनथ्यो। तर बिश्वास के थियो भने, जसरी फेसबुक, ट्विटर जस्ता सञ्जाल चलाउन कुनै बिशेष तालिमको आबस्यकता परेन, त्यसरी नै अनलाइन कक्षा सञ्चालन गर्न सकिन्छ भनेर ।

पछिल्लो अनुभवले चाहीँ के देखायो भने, परम्परागत कक्षा भन्दा अनलाइन कक्षा  सञ्चालन गर्न निकै सजिलो छ । अहिले पनि हाम्रा कक्षाकोठाहरु स्मार्ट बोर्डमा होइन ह्वाइटबोर्डमा आधारित छन । कम्प्युटर एनिमेसनको जमानामा बोर्डमा लेखेर बुझाउने कुरा मलाइ कहिले ब्यबहारिक लागेन । ग्राफको एनिमेसन गरेर गणित बुझाउन जति सजिलो हुन्छ, त्यती परम्परागत बोर्डमा हुँदैन । तर हामी अहिले पनि त्यहि ढर्रामा बाँचिरहेका थियौँ । तर अनलाइन कक्षामा ग्राफ मात्र होइन कुनै कुरा युट्युब वा अन्य पेजबाट स्लाइड तानेर देखाउँदा झन प्रभावकारी देखियो । र भिजुअलाइज गरेर पढाउने कुराले बुझाउन चाहेको कुरा बुझाउन समेत झन सजिलो बनाइदियो।

  सायद अब  कक्षाकोठामा प्रवेस गर्दा यो कुरा पक्कै खड्किने छ । र आशा गरौँ, हाम्रा कक्षाकोठाहरु परम्परागत संरचनाबाट मुक्त हुने छन । किनकी अनलाइन कक्षामा नवीनतम प्रबिधिबाट सिकेको बिद्यार्थी पुरानो संरचनामा पक्कै खुसी हुने छैन

कार्यसम्पादन मुल्यांकन

अहिले सम्मको शिक्षकको कार्यसम्पादन मुल्यांकन भनेकै  परिक्षाको नतिजा थियो । उसले  कक्षामा गर्ने प्रस्तुती देखि बिद्यार्थीलाइ ध्यान दिन सक्ने नसक्ने भन्ने कुरामा कसैले चाहेर पनि हेर्न नसक्ने अबस्था थियो । तर नयाँ प्रबिधिले गर्दा हरेक अभिभावकले घरमै बसेर शिक्षकको शैली हेर्न पाएका छन । हरेक अभिभावकले शिक्षकको मुल्यांकन गर्ने ल्याकत नराख्लान तर उनीहरु बिद्यालयको सेवाग्राही हुन र सेवाग्राहीको छनौट नै सत्य हुन्छ भन्ने उदारवादी मान्यताको आधारमा हेर्दा उनीहरुको रोजाइलाइ नै पहिलो प्राथमिकता दिनुपर्ने हुन्छ ।  शिक्षक वा विद्यालय प्रभावकारी भयो की भएन भन्ने होइन अभिभावकले शिक्षक र बिद्यालयले अपनाएको तरिका मन पराए वा पराएनन भन्ने कुरा मुख्य चासोको कुरा हुनेछ । र यस्तोमा घरमै बसेर हरेक शिक्षकको मुल्यांकन गर्न पाएका अभिभावकलाइ पुरानै तरिकाले सन्तुष्ट बनाउन निकै गार्हो हुन सक्छ । र हरेक शिक्षक यो चुनौतीको सामना गर्न तयार रहनुपर्दछ ।

र अन्त्यमा

बिकासबादको सिद्धान्तले जो नयाँ वाताबरणमा  आफुलाइ राम्रोसँग अभ्यस्त बनाउन सक्छ, त्यो मात्र सुरक्षित बन्छ भनेर बताउँछ । शिक्षाक्षेत्रमा आएको यो नयाँ वातावरणमा आफुलाइ अभ्यस्त बनाउन सक्ने शिक्षण सँस्था र शिक्षकहरु नयाँ चुनौतीको लागी अगाडी बढ्छन। नसक्नेहरु चाहीँ सायद सदाको लागी पछाडी छाडिनेछन