१९९० सालमा सुरु भएको एसएलसी परिक्षा बिभिन्न रुपमा परिमार्जन हुँदै आउनेक्रममा एसइइ परिक्षामा रुपान्तर भएको थियो । कक्षा १२ सम्म माध्यमिक शिक्षा नै रहने ब्यबस्था लागु भएपश्चात, ब्यबहारिक रुपमा कक्षा दशमा हुने परिक्षाको खासै महत्व नरहेको भए पनि, समाजमा रहेको मनोबैज्ञानिक प्रभावको कारण, यो परिक्षा अझै पनि महत्वपुर्ण मानिँदै आएको थियो । कोभिड १९ को कारण, परिक्षा हुन्छ कि हुँदैन भन्ने संसयको बिचमा हिँजो भएको मन्त्रीपरिषद बैठकले यसपारलीको लागी आन्तरिक मुल्यांकनलाइ आधार मानेर नतिजा प्रकाशन गर्ने निर्णय गरेपछि, यो परिक्षाको अस्तित्व संकटमा परेको छ। यो परिक्षा नहुँदा के हुन सक्छ , आउनुहोस, केहि बिचार गरौँ

सिकाइमा जोड

नेपालको सम्पुर्ण शिक्षापद्वती परिक्षा केन्द्रित छ। थुप्रै पटक मैले कक्षाकोठामा बिद्यार्थीसँग अन्तरकृया गर्दा के पाएको छु  भने  अपबादबाहेक हरेक बिद्यार्थी परिक्षामा अंक ल्याउनका लागि मात्र पढ्छन । परिक्षा बिग्रेको कारण पाउने गालीबाट जोगिनको लागि पढ्छन । कुनै बिषयबस्तुमा बिद्यार्थीले कतिको ध्यान दिन्छ भन्ने कुरा, त्यो पाठ परिक्षाको हिसाबले कतिको महत्वपुर्ण छ भन्ने कुराले निर्धारण गरेको हुन्छ । र परिक्षामा नसोधिने कुरा छ भने स्वयम शिक्षकले समेत पढाउँदैन वा पढाउन रुची देखाउँदैन । अर्थात बिद्यालयमा जे भइरहेको छ, सबै परिक्षाको लागी मात्र भइरहेको छ ।

आशा गर्न सकिन्छ अब विद्यालय शिक्षा यो कहरबाट मुक्त हुनेछ । नतिजामुखी सिकाइको दवावबाट मुक्त बिद्यालयहरु, साँचो सिकाइमा आधारित हुनेछन, कक्षाकोठाहरु स्रिजनात्मक हुनेछन, शिक्षकहरु साँचो अर्थमा गुरु हुनेछन र बिद्यार्थीहरु रमाएर बिद्यालय जानेछन ।

तर के बिर्सिन मिल्दैन भने, परिक्षाको डर नभएको अबस्थामा बिद्यार्थी पढाइको दवाबबाट मुक्त हुनेछन । हाम्रो  अहिलेकै सिकाइ पद्वती कायम रह्यो भने सायद बिद्यार्थीको ध्यान पढाइमा जाने छैन । बढि एडिक्टिभ गेमहरुले पढाइलाइ पुर्णरुपमा बिस्थापन गर्ने छन ।  त्यसको प्रतिस्थापन गर्न सक्ने खालको मनोरन्जनात्मक सिकाइ अभ्यास गर्न नसक्ने कक्षा र बिषयको बोझ, बिद्यार्थीले उठाउने छैनन । जसको प्रभाब सायद अबको सिकाइ प्रकृयामा नराम्रोसँग पर्ने छ । अधिकांस शिक्षक अहिले पनि पुरानै शैलीबाट अध्यापन गराउने कुरालाइ हेर्दा , के बुझ्न सकिन्छ भने छिट्टै कुनै सुधारको पहल चालिएन भने बिद्यार्थीहरु सदाको लागी कक्षाकोठाको सिकाइ माहोलबाट बाहिरिने छन।

आन्तरिक मुल्यांकन

शिक्षाक्षेत्रमा संसारकै आदर्श मानिएको फिनल्यान्डमा प्रत्येक शिक्षकले आफै पाठ्यक्रम निर्माण गर्न सक्ने र आफै आन्तरिक  मुल्यांकन गरेर कक्षा चढाउन सक्ने ब्यबस्था छ । ठिक उल्टो, नेपालमा पाठ्यक्रम, पाठ्यक्रम बिकास केन्द्रले निर्धारण गर्छ भने परिक्षा  पनि बाहिरबाट लिने ब्यबस्था छ । आन्तरिक मुल्यांकनप्रति यति अबिश्वास छ कि, कुनै बिद्यालयले अरु कुनै बिद्यालयसँग साझेदारी गरेर संयुक्त परिक्षा लिने गरेको छ भने त्यसलाइ गर्बका साथ सुनाउने गर्दछ । यसले शिक्षकको क्षमतामाथीको अबिश्वासलाइ उजागर गरेको छ । अर्कोतर्फ, बिद्यालयले आन्तरिक मुल्यांकन गर्न पाउने प्रयोगात्मक परिक्षाको अंकको बिश्वसनियतामाथी सधै सन्देह उठ्ने गरेको छ ।  यो मनोबिज्ञानको प्रभाव, हरेक बिद्यार्थी ७५ पुर्णांकमा १५ ल्याउन सकेको खण्डमा प्रयोगात्मक परिक्षाको २५ जोडेर ४० पुर्याउने सपना देख्छन । यस्तोमा शिक्षकलाइ पाठ्यक्रम निर्माण र आन्तरिक मुल्यांकनप्रती थप जिम्मेवार र सक्षम नबनाइ आन्तरिक मुल्यांकनको भर पर्ने कुरा थप घातक हुने निश्चित छ ।

र अन्त्यमा

लकडाउनले शिक्षाक्षेत्रमा नयाँ उपागमको प्रयोग गर्ने सुनौलो अबसर दिएको छ । यो यस्तो अबसर हो जसले पहिले कहिले गर्न नसकिएका कुराहरुलाइ ब्यबहारमा ल्याउने अबसर दिएको छ । प्रविधिमैत्री शिक्षाको कुरा उठिरहेपनि ब्यबहारमा ल्याउन कठिनाइ भइरहेको अबस्थामा अनलाइन सिकाइको कारण यसको सम्भाब्यताको अध्ययन गर्न सकियो । त्यसरी नै शिक्षाक्षेत्रमा बिश्वमा पादुर्भाव भएका नयाँ नयाँ अबधारणालाइ प्रयोग गर्ने यो सुनौलो अवसर समेत हो । त्यसैले अबको शिक्षा कस्तो बन्ने भन्ने कुरा सरोकारवालाहरुले कस्तो स्वबिबेक प्रयोग गर्छन भन्ने कुरामा निर्भर गर्ने छ