मुलुक गणतन्त्र घोषणा भएको १३ वर्ष र गणतान्त्रिक संविधान घोषणा भएको पाँच वर्ष पछाडि यो बहस नहुनु पर्ने थियो । मूलतः राजाट  अन्त्यको संकल्प सहित भएको ६२/६३ को आन्दोलन पश्च्चात लामो समयसम्म लुप्त प्राय भएको राजतन्त्रको भूत, पुन सलबलाउन खोजेको अवस्थामा र आन्दोलनका सहयात्री रहेका दलहरू दिशाहीन , कर्तव्य च्युत, भैरहेको अवस्थामा र लोकतन्त्र र गणतन्त्रका आधारभूत मूल्यहरु नै पालना नभएको अवस्थामा, गणतन्त्रको अस्तित्वमाथि चारैतर्फबाट आक्रमण भइरहेका छन् । यो आलेखमा गणतन्त्र को विपक्ष मा प्रयोग भइरहेका केही तर्कहरू को बारेमा मेरो विचार प्रस्तुत गर्नेछु।

गणतन्त्रको विपक्षमा प्रस्तुत गरिने पहिलो तर्क हो, अहिलेको देशको नेतृत्वमा रहेका नेताहरूको जीबनशैली राजा महाराजाको जस्तो देखियो । यो आरोपमा केही हदसम्म सत्यता छ, तर त्यसले लोकतन्त्रको सुन्दर मूल्यलाई छाँयामा पार्न भने सक्दैन । हिजो राजा महाराजाहरु देशको शक्ति को श्रोत मानिन्थे, उनीहरुको वाक्यहरु नै कानुन बन्थे । उनीहरूको जीवनशैलीका कुनैपनि पक्षहरुबारे सार्वजनिक बहस चलाउन बन्देज थियो।  अहिले कागजी रुपमा नै भएपनि कानुनको शासन छ, कानुनभन्दा माथि कोही छैन । राज्य सञ्चालकहरु का  हरेक गतिबिधिहरु निरन्तर नागरिक निगरानीमा छन्, उनीहरुका क्रियाकलाप प्रती उनीहरु आफै उत्तरदायी हुनुपर्ने अवस्था छ । तर समस्या, आम जनतामा समेत छ । उनीहरु शासकलाई जति उत्तरदायी बनाउनुपर्ने गरी जिम्मेवार हुनुपर्ने थियो, त्यो ढंगले प्रस्तुत हुन सकेका छैनन्। नागरिकको तहबाट हुनुपर्ने अडिट हुन सकेको छैन।जसको फाइदा देशको नेतृत्व लिनेलाई भइरहेको छ । त्यसैले , जसरी राजनीतिक नेतृत्व, पुरानै परम्परामा विलीन भयो भनेर आरोप लाग्छ, त्यसको केही हदसम्म जिम्मेवार आम जनता नै हुन् 
दोस्रो तर्क, राजा हिन्दु धर्मको संरक्षक रहेको कारणले गर्दा देशलाई इसाईकरण गर्नकोलागि राजतन्त्र नै प्रमुख बाधक रहने बुझेर, योजनाबद्धरुपमा राजतन्त्रलाई हटाइएको हो । यसको बारेमा धेरै तर्क गरिरहनु पर्दैन । विगतमा नेपालमा रहेका पुरातात्विक तथा धार्मिक मूल्य मान्यता बोकेका मुर्तिहरु विदेशमा तस्कर गर्ने गिरोह को थियो, भन्नेमात्र पनि बुझियो भने पनि , साच्चिकै राजतन्त्र हिन्दु धर्मको संरक्षक थियो अथवा हिन्दु सम्राटको पगरी लाई आफ्नो व्यक्तिगत स्वार्थको रुपमा प्रयोग गरेको थियो भन्ने प्रष्ट हुन्छ ।
त्यस्तै कतिपय मान्छेहरुले के सोच्छन् भने राष्ट्रको माया, राजपरिवारलाई अरुलाई भन्दा बढी हुन्छ । त्यसैले उनीहरु राष्ट्रको हकहितको विपक्षमा कुनै पनि सम्झौता गर्दैनन । अझ विपी कोइराला र मोहनविक्रम सिंहले कुनैबेला लेखेका लेखहरूको उदाहरण दिँदै, राजा रहँदासम्म राष्ट्रिय हितका विषयमा कुनै पनी गलत सम्झौता हुन नसक्ने दावी गर्दछन्।  तर यथार्थमा हेर्दा, योग्यताक्रमको प्रयोगहुने वर्तमान विश्वमा कुनै एक परिवारको सदस्य भएकै कारण कुनै व्यक्ति योग्य हुन्छ भन्ने दावी, भ्रम मात्र हुन्छ । एउटा उदाहरण दिनुपर्दा, कुनैबेला कपडा सिलाउने काम दमाई जातीको परम्परागत पेसा मानिए तापनि श्रेष्ठ टेलरिङ्ग को नामबाट खोलिएको व्यावसाय प्रमुख शहरहरुमा सबैभन्दा लोकप्रिय बनेको छ । त्यसैले पनि, के विश्वास गर्न सकिन्छ भने राजपरिवार को सदस्य मात्र होइन देशका अरु नागरिक हरुमा पनि देशको कुशल नेतृत्व लिने क्षमता हुनसक्छ, राजपरिवारका सदस्य मा भन्दा धेरै राष्ट्रिय हकहितको पक्षमा काम गर्ने दृढता हुनसक्छ।  अहिलेको वर्तमान नेतृत्व सोचेभन्दा कमजोर देखियो होला, तर फेरि पनि एउटै कुरा के बुझ्नुपर्दछ भने सचेत जनताले आफ्नो प्रकृति छान्ने अधिकारलाई सचेततापूर्वक प्रयोग गरे भने, राजतन्त्रमा भन्दा कैयौं गुना राम्रो नेतृत्व गणतन्त्र मा स्थापित हुनसक्छ